धनकुटा कला, साहित्य र पत्रकारिताको उर्वर भूमी हो । धनकुटागाले सयौं पत्रकार जन्मायो । देशमा पत्रकारिताको विकास र व्यवस्था परिवर्तनका सबै आन्दोलनमा धनकुटा पत्रकारको योगदान जोडिएको छ । मुलधारका मिडियासँग जोडिएका पत्रकारको पहिचानले ओखलढुंगे पत्रकारको जस्तो इतिहास बनिसकेको छ वास्तवमा जिल्लाको पत्रकारिताको विकास भने त्यसरी भइसकेको छैन । यद्यपि पछिल्लो १ दशकमा जिल्लाको पत्रकारिताको विकासले गति लिएको छ ।
पत्रकार महासंघको संस्थागत विकास
नेपाल पत्रकार महासंघ नेपाली पत्रकारहरुको छाता संस्था हो । पत्रकारको क्षमता विकास, अवसर र सुरक्षासँग सम्बन्धित महासंघ जिल्लामा जति सवल बन्छ उतिनै जिल्लाका पत्रकारहरुको पेशागत सुरक्षा, अवसरको उपलब्धता बढ्ने हो । ओखलढुंगाको सन्दर्भमा अग्रजहरुले पत्रकार महासंघ गठन देखि नियमित कार्यसञ्चालन गरेर महासंघको संस्थागत विकासमा योगदान गर्नुभयो । लामो समय भाडाको कोठाबाट महासंघका गतिविधिहरु सञ्चालन भए । अहिले सम्भवतः देशभरकै अन्य शाखाहरुको तुलनामा ओखलढुंगा शाखाको भवन ठुलो र बलियो बनाइएको छ । महासंघको आफ्नै भवनमा ५ तले भवन निर्माणसम्पन्न हुने चरणमा छ । पत्रकारहरुले ऋण लगानी गरेर जग्गा खरिदगरी थालेको भवन निर्माणको कामलाई सम्पन्न गर्न विभिन्न क्षेत्रका व्यक्ति र निकायको साथ मिलेको छ । भवन परिषरमा सञ्चारग्राम निमार्णगर्ने लक्ष्य छ । सदरमुकाममा कोठा भाडामा लिएर बस्नुपर्ने पत्रकारका लागि आवास निर्माण गर्ने, जिल्लाका सबै पत्रकारहरु महासंघकै भववनमा बसेर महासंघकै स्रोत र साधानबाट समाचार लेखन गर्नसक्ने परिस्थिती निर्माण गर्ने हाम्रो अठोट छ ।
अग्रजले सुरुवात गरेका कामलाई संस्थागत गर्दै वर्तमान कार्यसमितिले थर रचनात्मक कामहरु थालनी गरेको छ । महासंघलाई सञ्चार केन्द्रका रुपमा विकास गर्न स्रोत साधनको व्यवस्था, पत्रकारको पेशागत सुरक्षा र भैपरी आउने संकट तथा उपचारका लागि अक्षयकोष स्थापना, पत्रकारिताको विकासका लागि स्थानीय तहहरुसँगको साझेदारीमा विभिन्न तालिम कार्यक्रम र संस्थागत जिम्मेवारीका अन्य गतिविधि सञ्चालन गरिएको छ । भवन निर्माणलाई अन्तिमरुप दिन स्रोतको खोजी निकै चूनौतिपूर्ण विषय थियो तथापि प्रदेश सरकारसँगको समन्वय बढाएर बजेट व्यवस्था गर्न सफल भएको सो बजेटबाट पर्याप्त काम गरिएकाले यो कार्यकाल निकै रचनात्मक बनाउने प्रयास गरिएको छ । महासंघको संस्थागत विकासका लागि अन्य थुप्रै योजना छन् । क्रमशः बाँकी योजना अघि बढ्ने छन् । सवल र एकतावद्ध महासंघ बनाउन जिल्लाका सबै पत्रकारहरु एकजुट भएर अघि बढेको अवस्था छ । पत्रकारहरुको चट्टानी एकता नै ओखलढुंगामा पत्रकारिता विकासको पहिलो र एकमात्रै सर्त हो ।
दिगोपनाको बहस
पत्रकारिताको दिगोपनासँग सञ्चारमाध्यमको अवस्था जोडिन्छ । दिनानुदिन सञ्चारमाध्यमको आर्थिक अवस्था कमजोर बन्दै गएको छ । सञ्चारगृहहरु बलियो हुन सकेनन् दिगो रुपमा चल्न सकेनन् भने पत्रकार महासंघ बलियो हुन सक्दैन । पत्रकार उत्पादन गर्न र पेशामा टिकाइराख्न पहिला सञ्चारगृहहरुको व्यवस्थापकिय पक्ष बलियो हुनुपर्दछ ।
जिल्लामा ५ वटा रेडियो दर्ता भएका छन् त्यसमध्ये ४ वटा रेडियो अहिले नियमित प्रशारणमा छन् । ११ वटा पत्रपत्रिका दर्ता भएका छन् त्यसमध्ये अहिले अन्तिममा दर्ता भएको भिजन नेपाल साप्ताहिक मात्रै नियमित प्रकाशनमा छ । पछिल्लो समय अनलाइन सञ्चारमाध्यमहरु पनि खुलेका छन् । जिल्लामा अनलाइनहरु व्यवस्थित बनिसकेका छैनन् । जिल्लाका सञ्चारमाध्यमहरु सञ्चालकहरुले नै खटेर काम नगरे चल्न सक्ने अवस्थामा छैनन् । स्रोतको उपलब्धता नहुनु जिल्लामा पत्रकारिता विकासको प्रमुख चुनौति हो ।
पत्रकार महासंघको संस्थागत विकास होस् वा जिल्लामा सञ्चालित सञ्चारमाध्यमको दिगोपनाको सवालमा होस् अपेक्षित काम हुन सकेको छैन । अबको हाम्रो प्रयास सञ्चारमाध्यमको दिगोपना, पत्रकारको क्षमता विकास र महासंघको संस्थागत सवलीकरणमा केन्द्रित हुनेछ । यो बहसमा सबैको राय, सुझाव र योगदानको अपेक्षा पनि छ ।
प्रतिक्रिया